किरात याक्थुङ चुम्लुङ यूके Ashford शाखा वार्षिक साधारण सभा २०२६

EVENTANNUAL REPORT 2024 - 2027

लाल हाङ थलङ

9/13/20261 min read

किरात याक्थुङ चुम्लुङ यूके

Ashford शाखा

वार्षिक साधारण सभा २०२६

केन्द्रप्रति लक्षित प्रश्न तथा जिज्ञासाहरूको प्रतिवेदन

किरात याक्थुङ चुम्लुङ यूके, Ashford शाखाको वार्षिक साधारण सभा २०२६ मा शाखाका सदस्यहरूबाट केन्द्रको कार्यसम्पादन, संगठनात्मक अभ्यास, नीति तथा आगामी दिशासँग सम्बन्धित विभिन्न प्रश्न, जिज्ञासा तथा सुझावहरू उठेका छन्। उक्त प्रश्न तथा जिज्ञासाहरूलाई आगामी केन्द्रको वार्षिक साधारण सभामा प्रस्तुत गरी आवश्यक छलफल, स्पष्टता तथा सम्बोधनका लागि यो प्रतिवेदन तयार गरिएको हो।

१. नेपालमा आएको बाढी–पहिरो तथा विपद् पीडितका लागि आर्थिक सहयोग सम्बन्धमा

मिति २६ र २७ अगस्ट २०२६ मा नेपालमा आएको बाढी तथा विपद्का कारण विशेषगरी रसुवा क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थामा पीडितहरूको राहत तथा आर्थिक सहयोगका लागि KYC UK केन्द्रबाट तत्काल कुनै पहल भएको देखिएन भन्ने विषयमा सदस्यहरूबाट जिज्ञासा तथा प्रश्न उठेको छ।

यस सम्बन्धमा:

  • केन्द्र बाट यस प्रकारका बिसयहरु उपर अवधाराणा के छ स्पस्ट पारिदिनु होला ।

  • यस प्रकारका बिसम स्थिती आइपरेको अवस्थामा केन्द्र को केहि अवधाराणा भए शाखा समर्थन गरी तत्पर रहने जानकारी गरिन्छ ।

  • यस विषयमा केन्द्रले आगामी दिनमा कुनै सहयोग कार्यक्रम सञ्चालन गर्ने वा नगर्ने?

  • यदि पहल हुन नसकेको हो भने त्यसका कारणहरू के हुन्?

  • भविष्यमा यस्ता राष्ट्रिय तथा मानवीय विपद्का समयमा KYC UK ले कस्तो भूमिका निर्वाह गर्ने भन्ने विषयमा स्पष्ट नीति तथा कार्यदिशा आवश्यक छ।

यस विषयमा केन्द्रबाट स्पष्ट जवाफ तथा आगामी कार्ययोजनाबारे जानकारी गराउन अनुरोध गरिन्छ।

२. सिसेक्पा तङ्नाम तथा स्वयंसेवकहरूको व्यवस्थापन सम्बन्धमा

यूकेमा आयोजना हुने सिसेक्पा तङ्नाम याक्थुङ समुदायको सबैभन्दा ठूलो सामूहिक भेला, चाड तथा सांस्कृतिक जमघटमध्ये एक हो। यस कार्यक्रमको तयारीमा लामो समयदेखि सक्रिय रूपमा खटिँदै आएका स्वयंसेवकहरूको महत्वपूर्ण भूमिका रहने गर्दछ।

तर, कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको अवस्थामा अत्यन्तै कम समयको अन्तरालमा कार्यक्रमको मिति तथा तयारीसँग सम्बन्धित विषयहरू परिवर्तन हुँदा पहिले नै आफ्नो कामबाट छुट्टी मिलाएर स्वयंसेवकका रूपमा समय व्यवस्थापन गरिसकेका साथीहरूलाई प्रत्यक्ष असर परेको र यसबारे गुनासाहरू प्राप्त भएको विषय उठेको छ।

त्यसैले:

  • यस्ता ठूला कार्यक्रमको मिति तथा तयारीसम्बन्धी निर्णय पर्याप्त समयअघि गर्नुपर्ने,

  • अन्तिम समयमा हुने परिवर्तनले स्वयंसेवक तथा सहभागीहरूमा पार्ने असरलाई ध्यान दिनुपर्ने,

  • कार्यक्रम व्यवस्थापन तथा निर्णय प्रक्रियामा सम्बन्धित शाखा, स्वयंसेवक तथा सरोकारवालासँग पर्याप्त समन्वय र विचार–विमर्श गर्नुपर्ने

विषयमा केन्द्रको ध्यानाकर्षण गराउन चाहन्छौँ।

३. KYC UK को विधान प्रत्येक सदस्यको पहुँचमा हुनुपर्ने सम्बन्धमा

KYC UK को विधान संस्थाको आधारभूत मार्गदर्शक दस्तावेज भएकाले सम्पूर्ण सदस्यहरूले सहज रूपमा विधानको अध्ययन तथा जानकारी प्राप्त गर्न सक्ने अवस्था हुनुपर्ने हो।

तर, सबै सदस्यको हात–हातमा विधान उपलब्ध नभएको तथा विधानबारे पर्याप्त जानकारी प्राप्त गर्न कठिनाइ भएको गुनासो सदस्यहरूबाट आएको छ।

त्यसैले:

  • KYC UK को वर्तमान तथा लागू विधान सम्पूर्ण सदस्यहरूको पहुँचमा उपलब्ध गराउनुपर्ने,

  • डिजिटल तथा आवश्यक भएमा मुद्रित प्रतिलिपिसमेत उपलब्ध गराउनुपर्ने,

  • विधानमा भएका सदस्यका अधिकार, कर्तव्य, संस्थाको संरचना तथा निर्णय प्रक्रियाबारे सदस्यहरूलाई जानकारी गराउनुपर्ने

विषयमा केन्द्रबाट आवश्यक पहल गर्न अनुरोध गरिन्छ।

४. ‘किरात’ शब्द, याक्थुङ पहिचान र संगठनको आगामी दिशासम्बन्धी गम्भीर जिज्ञासा

हालै नेपालमा, विशेषगरी सुनसरी धरान–विजयपुर क्षेत्रमा सिर्जित घटनाक्रमले याक्थुङ/लिम्बू समुदायको पहिचान, इतिहास, धार्मिक–सांस्कृतिक धरोहर तथा अस्तित्वसँग सम्बन्धित विषयलाई पुनः गम्भीर बहसको केन्द्रमा ल्याएको छ। उक्त घटनाक्रमले सम्पूर्ण याक्थुङ लिम्बू समुदायको मन–मुटुमा गहिरो चोट र चिन्ता पैदा गरेको अनुभूति भएको छ।

यस घटनाक्रमलाई केवल स्थानीय विषयका रूपमा मात्र नहेरी, हाम्रो ऐतिहासिक पहिचान, सांस्कृतिक अस्तित्व र हामीले प्रयोग गर्दै आएको ‘किरात’ शब्द तथा यसको राजनीतिक, सामाजिक र जातीय अर्थका सम्बन्धमा पनि गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता देखिएको छ।

यसै सन्दर्भमा Ashford शाखाको AGM मा निम्न प्रश्न तथा जिज्ञासाहरू उठेका छन्:

  • हालै सुनसरी धरान–विजयपुरमा सिर्जित घटनाक्रमले हाम्रो याक्थुङ/लिम्बू संस्कृती पहिचान र अस्तित्वका सम्बन्धमा गम्भीर प्रश्न उठाएको अवस्थामा KYC UK को स्पष्ट धारणा के हो?

  • के हामीले ‘किरात’ शब्दलाई आफ्नो संस्थाको शीर्षक तथा परिचयमा राखेर यसको प्रयोग र व्याख्या गर्ने क्रममा कतै आफ्नो विशिष्ट याक्थुङ पहिचानलाई कमजोर बनाउने दिशातर्फ त गइरहेका छैनौँ?

  • विशुद्ध जातीय संस्था तथा याक्थुङ समुदायको प्रतिनिधित्व गर्ने संगठनमा पाँच जातिलाई समेट्ने व्यापक ‘किरात’ शब्दको प्रयोगको सीमा, आवश्यकता र औचित्य के हो?

  • ‘किरात’ हाम्रो साझा ऐतिहासिक तथा सांस्कृतिक पहिचान हो भने त्यसको व्यावहारिक अर्थ र वर्तमान सन्दर्भमा यसको सीमारेखा के हो?

  • हालका घटनाक्रमहरूले देखाएको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै ‘किरात’ शब्दको प्रयोग, यसको अर्थ र हाम्रो संगठनात्मक पहिचानबारे पुनः गम्भीर समीक्षा गर्ने समय आएको हो कि होइन?

  • हामीले आफ्नो विशिष्ट याक्थुङ भाषा, धर्म, संस्कार, संस्कृति, इतिहास, भूगोल र जातीय अस्तित्वलाई अझ सशक्त रूपमा संरक्षण गर्ने हो कि व्यापक पहिचानभित्र क्रमशः विलीन हुँदै जाने हो?

  • KYC UK ले आगामी दिनमा याक्थुङ जातिको मौलिक पहिचान र अस्तित्वलाई केन्द्रमा राखेर आफ्नो संस्थागत नीति तथा दृष्टिकोण स्पष्ट रूपमा परिभाषित गर्ने कि नगर्ने?

यी प्रश्नहरू कुनै व्यक्ति, समुदाय वा संस्थाप्रति आरोप वा विरोधका रूपमा नभई हालै धरान–विजयपुरमा सिर्जित घटनाक्रमसहित समग्र परिस्थितिबाट उत्पन्न भएको याक्थुङ समुदायको गम्भीर चिन्ता, आत्मसमीक्षा र भविष्यको दिशाबारेको जिज्ञासाका रूपमा केन्द्रसमक्ष प्रस्तुत गरिएको हो।

हाम्रो उद्देश्य कसैको पहिचानलाई अस्वीकार गर्नु होइन; बरु आफ्नो मौलिक याक्थुङ पहिचान, अस्तित्व र अधिकारलाई स्पष्ट रूपमा बुझ्दै भावी पुस्ताका लागि सुरक्षित राख्ने दिशामा KYC UK को संस्थागत धारणा के हुने भन्ने स्पष्टता प्राप्त गर्नु हो।

यस विषयमा केन्द्रबाट भावनात्मक प्रतिक्रियाभन्दा पनि ऐतिहासिक तथ्य, संस्थाको विधान, याक्थुङ समुदायको भावना तथा वर्तमान परिस्थितिलाई आधार बनाई खुला, गम्भीर र तथ्यपरक छलफल गरिनुपर्ने अपेक्षा गरिएको छ।

५ चुम्लुङ्देन जग्गाको को संबन्धमा -

चुम्लुङ्देन खरिदमा दाताले लगानी गरेको रकम वा सेयर दाताको मृत्युपछि सरकारको नाममा जाने कुनै कानुनी व्यवस्था छैन। यो पूर्ण रूपमा संस्थाको आन्तरिक नीतिले निर्धारण गर्ने विषय हो।

दाताको मृत्यु पछी उस्को लगानी अथबा सेयर सेस पछिको भन्ने बारेमा केहि निती छ भने स्पस्ट पारिदिनु होला ।

५. निष्कर्ष

KYC UK को वर्तमान नेतृत्वबाट धेरै आशा राखिएको छ। वर्तमान अध्यक्षज्यूको कार्यकालमा संगठनमा केही सकारात्मक परिवर्तनहरू भएका छन् भन्ने चर्चा पनि हुने गरेको छ। तर, ती परिवर्तनहरूका प्रभाव तथा उपलब्धिहरू शाखा तह र सदस्यहरूको दैनिक अनुभवसम्म कत्तिको आइपुगेका छन् भन्ने विषयमा भने अझै स्पष्ट अनुभूति हुन नसकेको गुनासो पनि रहेको छ।

त्यसैले, “परिवर्तन भयो” भनिएको छ, तर त्यो परिवर्तन कहाँ, कसरी र कति प्रभावकारी रूपमा भयो भन्ने कुरा सदस्यहरूले प्रत्यक्ष रूपमा महसुस गर्न सक्ने गरी स्पष्ट हुन आवश्यक छ।

यस प्रतिवेदनमा उल्लिखित सम्पूर्ण प्रश्न, जिज्ञासा तथा सुझावहरूलाई आगामी KYC UK केन्द्रको वार्षिक साधारण सभामा प्रस्तुत गरी सम्बन्धित विषयमा केन्द्रबाट स्पष्ट जवाफ, आवश्यक छलफल तथा आगामी कार्यदिशा निर्धारण गरियोस् भन्ने Ashford शाखाको अपेक्षा रहेको छ।

धन्यवाद।

Ashford, UK — १२ सेप्टेम्बर २०२६

किरात याक्थुङ चुम्लुङ यूके, Ashford शाखाको वार्षिक साधारण सभा २०२६ मिति १२ सेप्टेम्बर २०२६ मा सफलतापूर्वक सम्पन्न भएको छ।

सभामा प्रमुख अतिथि श्री साम्यो रहनुभएको थियो भने शाखाका अध्यक्ष सुन्दर लिङ्थेपले सभाको अध्यक्षता गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन शाखाका सचिव लालहाङ थलङले गर्नुभएको थियो।

कार्यक्रमको प्रारम्भमा शाखाका उपाध्यक्ष तुल वीर वनेमले Health and Safety Briefing प्रस्तुत गर्नुभएको थियो। त्यसपछि शाखाका कोषाध्यक्ष सन्त फाबेनले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण महानुभाव तथा सदस्यहरूलाई स्वागत गर्नुभएको थियो।

सभामा शाखाको संगठनिक प्रतिवेदन सचिव लालहाङ थलङले प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमार्फत विगत एक वर्षमा शाखाले गरेका विभिन्न संगठनात्मक गतिविधि, कार्यक्रम तथा उपलब्धिहरूका साथै आगामी कार्यदिशाका विषयमा जानकारी प्रस्तुत गरिएको थियो।

त्यसैगरी, शाखाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष सन्त फाबेन तथा रविन्सन मादेनले संयुक्त रूपमा प्रस्तुत गर्नुभएको थियो। शाखाका सांस्कृतिक गतिविधि तथा कार्यक्रमहरू समेटिएको सांस्कृतिक प्रतिवेदन सी.के. साम्बाङ्फेले प्रस्तुत गर्नुभएको थियो।

वार्षिक साधारण सभाका क्रममा शाखाका सदस्यहरूबाट केन्द्रसँग सम्बन्धित विभिन्न जिज्ञासा, सुझाव तथा विषयहरू समेत उठाइएको थियो। प्राप्त जिज्ञासा तथा विषयहरूलाई आगामी १९ सेप्टेम्बर २०२६ मा सम्पन्न हुन गइरहेको किरात याक्थुङ चुम्लुङ यूकेको केन्द्रीय वार्षिक साधारण सभामा प्रस्तुत गरिने भएको छ।

साथै, शाखाको वार्षिक प्रतिवेदन १५ सेप्टेम्बर २०२६ अगावै केन्द्रीय समितिमा पठाइने जानकारी गराइएको छ।

सभामा विभिन्न विषयमा छलफल तथा विचार–विमर्श हुनुका साथै संस्थाको आगामी कार्यदिशा, संगठनात्मक सुदृढीकरण, आर्थिक पारदर्शिता तथा याक्थुङ भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनका विषयमा सदस्यहरूले आफ्ना धारणा तथा सुझावहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि श्री साम्योले आफ्नो मन्तव्य राख्दै वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले संस्थाको उद्देश्य प्राप्तिका लागि आपसी एकता, सहकार्य र सक्रिय सहभागिताको महत्त्वमा जोड दिनुभएको थियो।

त्यसपछि सभाध्यक्ष सुन्दर लिङ्थेपले सभालाई सम्बोधन गर्दै उपस्थित सम्पूर्ण महानुभाव तथा सदस्यहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। उहाँले सभामा उठेका जिज्ञासा, सुझाव तथा विषयहरूलाई आगामी केन्द्रीय वार्षिक साधारण सभामा प्रभावकारी रूपमा प्रस्तुत गरिने बताउँदै सभाको विधिवत् रूपमा विसर्जन गर्नुभएको थियो।

वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न आफ्नो अमूल्य समय प्रदान गरी उपस्थित हुनुभएका प्रमुख अतिथि श्री साम्योज्यू, सभाध्यक्ष सुन्दर लिङ्थेपज्यू, उपाध्यक्ष तुल वीर वानेमज्यू, कोषाध्यक्ष सन्त फाबेनज्यू, रविन्सन मादेनज्यू, सी.के. साम्बाङ्फेज्यू, शाखाका पदाधिकारीहरू, सदस्यहरू तथा सम्पूर्ण महानुभावहरूमा किरात याक्थुङ चुम्लुङ यूके, Ashford शाखाको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

लालहाङ थलङ
सचिव
किरात याक्थुङ चुम्लुङ यूके, Ashford शाखा