किरात याक्थुङ चुम्लुङ यूकेको केन्द्रीय वार्षिक साधारण सभा सम्पन्न

लालहाङ थलङ

9/20/20261 min read

१७ एजेन्डा माथि छलफल, शाखागत प्रतिवेदन तथा प्रस्ताव प्रस्तुत

मेडस्टोन, बेलायत । किरात याक्थुङ चुम्लुङ (केवाईसी) यूकेको केन्द्रीय वार्षिक साधारण सभा १९ सेप्टेम्बर २०२६ मा मेडस्टोन स्थित चुम्लुङ्देनमा सम्पन्न भएको छ। केन्द्रीय अध्यक्ष कमला सेन्दाङको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन महासचिव महेश वनेमले गर्नुभएको थियो भने केन्द्रीय उपाध्यक्ष सानु सुब्बाले स्वागत मन्तव्य दिनुभएको थियो।

सभाको उद्घाटन केन्द्रीय अध्यक्ष कमला सेन्दाङ र चुम्लुङ्देनका संयोजक रिटायर्ड मेजर चित्रराज हुक्पाचोङबाङले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। सभामा केन्द्रीय समितिका सल्लाहकार, विभिन्न शाखाका अध्यक्ष, सचिव तथा प्रतिनिधिहरू र सदस्यहरूको उपस्थिति रहेको थियो।

सभाको प्रारम्भमा केवाईसी यूकेका दिवङ्गत सदस्यहरू, याक्थुङ पहिचान तथा भूमिको अधिकारका लागि जीवन आहुति दिने वीर–वीरङ्गना तथा हालै रसुवामा गएको विनाशकारी बाढी–पहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुई मिनेट मौनधारण गरिएको थियो।

सभामा चुम्लुङ्देनको पछिल्लो गतिविधि तथा प्रगति बारे केन्द्रीय उपाध्यक्ष राजेन लाबुङले जानकारी गराउनुभएको थियो। त्यस्तै, चुम्लुङ्देनको आगामी योजना तथा अनुमति प्रक्रिया सम्बन्धी विषयमा संयोजक रिटायर्ड मेजर चित्रराज हुक्पाचोङबाङले प्रस्तुति दिनुभएको थियो।

वार्षिक साधारण सभामा विभिन्न शाखाका अध्यक्ष, सचिव तथा प्रतिनिधिहरूले आ–आफ्ना शाखाका संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए। सोही क्रममा आशफोर्ड शाखाका तर्फबाट शाखा सचिव लालहाङ थलङले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुका साथै शाखाबाट पारित जिज्ञासा तथा प्रस्तावहरू केन्द्र समक्ष हस्तान्तरण गर्नुभएको थियो।

यसै गरी, केन्द्रीय आर्थिक प्रतिवेदन कोषाध्यक्ष खगेन्द्र लावतीले, केन्द्रीय संगठनात्मक प्रतिवेदन महासचिव महेश वनेमले तथा चुम्लुङ यूकेको वेबपेज अपडेट सम्बन्धी जानकारी जुरेन्द्र खजुमले प्रस्तुत गर्नुभएको थियो।

केन्द्रीय समितिले सभामा छलफल तथा निर्णयका लागि १७ वटा एजेन्डा प्रस्तुत गरेको थियो। उक्त एजेन्डाका साथै शाखाहरूबाट प्रस्तुत प्रतिवेदन, जिज्ञासा तथा प्रस्तावहरूमाथि विस्तृत छलफल गरिएको थियो।

सभाबाट पारित निर्णयहरू सम्बन्धित सबै शाखाहरूलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै केन्द्रीय वार्षिक साधारण सभा २०२६ सम्पन्न भएको हो।